फाइल तस्वीरः श्री एयरलाइन्स
काठमाडौं — भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरलाइन्सको विमान इण्डिकेटरले खराब देखाएपछि पुनः भैरहवा विमानस्थलमा अवतरण गरेको छ । एसएचए ८२२ उडान नम्बर रहेको ७२ सिट क्षमताको उक्त विमान काठमाडौं आउनेक्रममा उडेको २० मिनेट पछि भैरहवा नै फर्किएको हो ।
भैरहवाबाट बिहान सात बजेर ५५ मिनेटमा उड्ने समय तालिका रहेको उक्त विमान नौ बजेर ४० मिनेटमा मात्रै काठमाडौंका लागि उडेको थियो । जहाज सकुशल अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
चालक दलका सदस्यहरूले विमानको इन्डिकेटरले खराबी देखाएकोपछि विमानलाई बीचबाटैबाट फर्किएको बताइएको छ । यद्यपि, विमानमा के कस्तो समस्या देखिएको हो भन्ने विषयमा जानकारी प्राप्त भएको छैन । उक्त विमान रनवेमै रहेकाले भैरहवामा अवतरण गर्ने विमानहरु प्रभावित भएका छन् ।