फाइल तस्वीर

काठमाडौं — सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ । विगत १४ महिनादेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न आज सोमबार साँझ छ बजे संवैधानिक परिषदको बैठक बस्ने भएको हो ।

बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्नेमा सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटपछि संवैधानिक परिषद्को बैठक आज साँझ बस्ने टुङ्गो लागेको हो ।

संसद्मा महाभियोग प्रस्ताव दर्ता भई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि हाल सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश रहदैं आउनुभएको छ ।

विगत लामो समयदेखि नेतृत्वविहीन रहेको सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिका लागि नेपाल बार एसोसिएसनलगायत सरोकारवालाहरूले दबाब दिइरहेका छन्। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य हुनुहुन्छ ।