फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल प्रारम्भ हुँदैछ । आगामी आथिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तर्जुमा गर्ने तयारीका रुपमा प्रतिनिधिसभा बैठकमा प्रि–बजेट माथि छलफल हुन लागेको हो ।
बजेटका सिद्धान्त तथा प्राथमिकता माथि छलफल गर्न आज बिहान ११ बजेका लागि बानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
प्रतिनिधिसभा बैठकमा आज सोमबारदेखि २७ गतेसम्म प्रि–बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन हिजो आईतबार नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री महतले प्रस्तुत गर्नुभएको विषयमा आजदेखि छलफल हुनेभएको छ ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्ने हुन्छ । संविधानले व्यवस्था गरेअनुसार आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि–बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।
प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले दिनुहुने र जवाफ दिइसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।
सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरिंदैछ ।