काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा सफलता मिलेको बताउनुभएको छ । महानगर प्रमुख बालेनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् केही दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको बताउनुभएको हो ।
उहाँले उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा ढल नभइ खोला भन्ने कुरा पुनः प्रमाणित गरेकाले अब टुकुचाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नामको जग्गा सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकिया अगाडि बढाइने उल्लेख गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ, ‘टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।’
प्रमुख बालेनले लेख्नुभएको छ, ‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वाेत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’
उहाँले उच्च अदालतको फैसलाले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण गरेको पनि उल्लेख गर्नुभएको छ । महानगर प्रमुख बालेनले खोला छोप्ने कार्य बर्जित भएकाले यस्तो कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्ने पनि बताउनुभएको छ ।