काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको हो ।


काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सम्बन्धी पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनुहुने कार्यक्रम रहेको छ । यसैगरी सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी सभामुख घिमिरेले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुलाई मनोनयन गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ का लागि विनियोजित विधेयकहरु सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।