फाइल तस्वीरः डोलप्रसाद अर्याल, उपाध्यक्ष–रास्वपा
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पहिलेकै मन्त्रालय दिन तयार रहेको दावी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई पहिलेकै मन्त्रालय दिन तयार रहेको उक्त पार्टीका उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले खुलासा गर्नुभएको हो ।

रास्वपाले यसअघि उपप्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै सरकारमा गएको थियो । गृहमन्त्रालयको जिम्मेवारी सहित उपप्रधानमन्त्री बन्नुभएका रास्वपाका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएपछि रास्वपाका सबै चार जना मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।

सभापति रवि लामिछानेले नेपाली नागरिकता बनाएर चितवन निर्वाचन क्षेत्र नम्बर दुईबाट उपनिर्वाचनबाट सांसदमा पुनः निर्वाचित भएपछि सरकारमा जान आतुर देखिएको छ । गठबन्धन दलका ठूला दलहरुले रास्वपालाई सरकारमा आउन आग्रह गरेपछि उसले पहिलेकै मन्त्रालय पाउनु पर्ने सर्तसहित मन्त्रालयमा हस्तक्षेप गर्न नपाउने, न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्नु पर्ने र सरकार पूरा अवधि टिकाउनु पर्ने शर्त खारेको थियो ।

उपाध्यक्ष अर्यालले प्रधानमन्त्री प्रचण्ड आफुहरुले राखेका सर्तहरु पुरा गर्न तयार हुनुभएको दावी गर्दै पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुङ्गो लगाउने बताउनुभएको छ ।