तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली ।
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिनुभएका एमाले सचिव टोपबहादुर रायमाझीका विषयमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी छलफल गर्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहीबार प्रधानमन्त्री प्रचण्डसँग ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोप लागेका एमाले सचिव एवम् सांसद रायमाझीको विषयमा छलफल गर्नुभएको छ । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।
नेता ओलीले सचिव रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढङ्गले एक्सन लिने काम भएको भन्दै ‘षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ । भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सांसद भागेर कतै जाने खालको कुरा त होइन’ भनि प्रतिक्रिया दिनुभएको छ ।
एमााले अध्यक्ष ओलीले बुधबार बेलुका रायमाझीसँग आफ्नो कुरा भएको बताउँदै ‘मैले बेलुका कुरा गरेको थिएँ । यस्तो सुन्छु नि तपाईँलाई पक्राउ पुर्जी भनेको के हो ? केही जानकारी छ भन्दा मैले आईजीपीलाई सोधें त्यस्तो होइन, यसबारे स्पष्ट पार्दिनुपर्ला भनेर भनेको छ त्यस्तो होइन । भोलि काठमाडौं आउँछु भन्याथ्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको भन्नुहुँदै ‘रायमाझी तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं’, भन्नुभएको छ । निर्दोष पर्न नहुनेतर्फ पार्टी सचेत रहेको भन्नुहुँदै अध्यक्ष ओलीले दोषी भने उम्कन नमिल्ने बतानुभयो । उहाँले भन्न्भयो ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौं ।’