गोदावरी — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव प्रधानमन्त्रीलाई दिएको बताउनुभएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ’, उहाँले भन्नुभयो । रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उहाँको भनाइ छ ।
उहाँले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने पनि बताउनुभयो । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी समेत गर्नुभयो ।