काठमाडौं — बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गर्नुभएको छ । अहिले बिहान ११ बजेको उडानमार्फत उहाँ, श्रीमती ज्योत्सना र स्वकिय सचिव दीपककुमार जोशीका साथ बेलायत प्रस्थान गर्नुभएको हो ।

यहि बैशाख २३ गते शनिबार (मे ६ तारिख) मा बेलायती राजा चार्ल्स तृतीयको बकिङ्घम दरबारमा राज्याभिषेक कार्यक्रममा तय भएको छ । सोही राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत जानुभएको हो । उहाँ २६ गते मङ्गलबार काठमाडौं फर्किनुहुने कार्यक्रम रहेको उहाँको स्वकिय सचिव जोशीले जानकारी दिनुभयो ।

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम थियो। तर पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि लामो समय भारतमा उपचार गराएर भर्खरै मात्रै काठमाडौं फर्किनुभएकोले उहाँको स्वास्थ्य प्रतिकूलताका कारण परराष्ट्रमन्त्री साउदले सहभागिता जनाउन लाग्नुभएको हो ।