तस्वीरः प्रतीक थापा, पूर्वगृहमन्त्री बादलका छोरा ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।
प्रतीकद्वारा विज्ञप्तिमा आफूले अनुसन्धान प्रक्रियालाई भने सघाउने प्रतिबद्धता उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन् ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
पूर्व गृहमन्त्रीका छोरा प्रतीकले केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिरहेका आरोप लगाउँदै ‘म विरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढवा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ’ विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले रामबहादुर थापाले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका बताएका छन् ।
‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन’, विज्ञप्तिमा उल्लेख गरेका छन् ।