तस्वीरः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
पोखरा — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बिहीबार दिउँसो दुई बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डले विश्वासको मत लिनुहुनेभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको थियो । यही वैशाख १४ गते नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । साठी सदस्यीय प्रदेशसभामा नेपाली काङग्रेसका २७ जना, नेकपा (माओवादी केन्द्र) सात जना र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बन्नुभएको होे । मुख्यमन्त्रीलाई विश्वासको मत लिन ३१ मतको आवश्यक पर्दछ ।
हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि आजै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे हुनुहुन्छ । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र काङ्ग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।