तस्वीरः सङ्घीय संसद भवन ।
काठमाडौं — मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आज बुधबार सिंहदरबारमा बसेको बैठकले संसद् अधिवेशन आह्वान गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले वैशाख २४ गते अपरान्ह ४ बजे बस्ने गरी बजेट अधिवेशन आह्वान गरेको हो ।
राष्ट्रपति पौडेलले आह्वान गर्नुभए अनुसार वैशाख २४ गते आईतबार काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्नेछ । यही वैशाख १५ मा संसद्को हिउँदे अधिवेशन सकिएको थियो । राष्ट्रपतिको आह्वानसँगै अब सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुन लागेको हो ।
राष्ट्रपतिको आह्वानअनुसार सङघीय संसद् सचिवालयले राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदहरुलाई अधिवेशन सुरु हुने दिन उपस्थित हुन आग्रह गरेको छ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछु’, भनिएको छ ।
