तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक सरकार विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले सत्तागठबन्धन दल नेपाली काङ्ग्रेसका तीन जना नेताहरुलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण भोलि बिहीबार हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको शपथ भोलि दिउँसो ३ बजे हुने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा आज काङग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र काङ्ग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको हो । बस्नेत काङ्ग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिनुहुन्छ ।

नेपाली काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा भागबण्डाको आधारमा आठ वटा मन्त्रालय पाएको थियो । नेपाली काङ्ग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाएको छ । प्रधानमन्त्री पछि दोस्रो वरियतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का हुनुहुन्छ ।