तस्वीरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भुटानी शरणार्थी प्रकरणमा तानिने हुनुभएको छ । उक्त प्रकरणमा आफ्नो नाम पनि आएपछि अख्तियार प्रमुख राईले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्नु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईलाई सोही प्रकरण हिजो मङ्गलबार प्रहरीले निवासबाटै पक्राउ गरेको पछि प्रहरीसँगको बयानका क्रममा अख्तियार प्रमुख राईको नाम लिएपछि पछि उक्त प्रकरणमा राईसमेत तानिनुभएको छ । २०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । उक्त कार्यदल बन्दा राई गृह सचिव हुनुहुन्थ्यो । अख्तियार प्रमुख राई २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृह मन्त्रालयको सचिव हुनुहुन्थ्यो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान कागजपत्र बनाएको गिरोहमा संलग्न भेटिएका अख्तियार प्रमुख संवैधानिक निकायको उच्च ओहदाका अधिकारी हुनुहुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिवदेखि शीर्ष नेता र तीनका परिवारको संलग्नता रहेको खुलासा भएको र अरु धेरै जना तानिन सक्ने बताइएको छ ।

उक्त प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरी तीन दिन थुनामा राख्न म्याद पाएको छ । सचिव पाण्डे त्यसबेला गृहमन्त्रालयका सचिव हुनुहुन्थ्यो ।

सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पनि सोही प्रकरणमा प्रहरीले आज बुधबार नै पक्राउ पुर्जी जारी गरेको छ ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गिरोहका नाइके केशवप्रसाद दुलाल, सानु भण्डारी र टेक गुरुङलाई नेपाल प्रहरीले चैत १२ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ । २०६६ सालमा काङग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा कोइरालाका स्वकीय सचिव तिनै केशवप्रसाद दुलाल थिए ।

भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए। उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएका थिए । एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनिहरुले एक अर्ब ठगी गरेको खुल्न आएको छ ।

केही समय अघिमात्रै उक्त प्रकरणको गिरोहका सदस्यले एमाले सचिव रायमाझीका छोराको नाममा काटेको डेढ करोड रुपैयाँको चेक सार्वजनिक भएको थियो । उक्त चेक पनि प्रहरीले बरामद गरेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ जना ७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।