काठमाडौं — लोक सेवा आयोगले उम्मेदवारहरुको डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।

पुनः दरखास्त आह्वान

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभए अनुसार सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने भएको छ ।

लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।

डाटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने एकिन गर्न नसकिने भएकाले २०८० साल जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगले जनाएको छ ।