काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव भट्टराईविरुद्ध आज मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।
सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मङ्सिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ । भट्टराईको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारको भनाई छ ।
उनले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईको नाममा राखिएको पाइएको अख्तियारको दावी छ ।