काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित हुनुभएको छ । आज मङ्गलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद् कोइरीलाई निलम्बन गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद् कोइरीलाई निलम्बन गरिएको जनाएको छ । यसअघि सोमबार प्रहरीले हत्या आरोपी कोइरीलाई पक्राउ गर्नका लागि सहयोग गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो । वि.सं.२०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई घेरा हालेर हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरले सांसद् कोइरीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । तर, सांसद् कोइरी भने फरार रहनुभएको छ ।

सभामुख घिमिरेले गत १५ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद कोइरीले अस्वस्थ रहेको पत्र पठाएको जानकारी गराउँदा सत्तापक्षका सांसद्हरूले विरोध जनाएपछि सभामुख घिमिरेले नयाँ अधिवेशनमा कानुुन बमोजिम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही अनुसार आज प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद् कोइरीलाई निलम्बन गरिएको हो ।