काठमाडौं — घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको आज मङ्गलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको हो ।

वैशाख ४ गते बिहान पौने ४ बजे शङ्कास्पद रूपमा चितवनस्थित एक घरको छतबाट खसेर गम्भीर घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन् । टाउकोमा गहिरो चोट लागेका थापाको चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थप उपचारका लागि गत वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो ।

घरको छतबाट खसेर बेहोस भएका थापाको भेन्टिलेटरमा उपचारकै क्रममा आज मङ्गलबार निधन भएको अस्पतालले जनाएको हो।