काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
‘देशै भरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुनेछ । ’मङ्गलबार पनि पहाडी क्षेत्रमा वर्षा हुनेछ भने तराईमा केही मात्रामा घटदै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ’, उनले भने । उनका अनुसार बुधबारदेखि भने वर्षा कमजोर हुँदै जानेछ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।
यसैगरी राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।