काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताउनुभएको छ । आज आइतबार पार्टी निकट अखिल नेपाल किसान महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन किसिमका मानिसले मात्र राजतन्त्र मान्ने गरेको बताउनुभएको हो ।

‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, ओलीको भनाइ छ । उहाँले स्वार्थी तत्वहरु विकाउ माल भएको भन्दै उनीहरुलाई एकहप्ता दश दिनका लागि किन्न सक्ने भन्दै त्यस्ता तत्वहरुले राजतन्त्र मान्ने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गर्नुभयो ।