काठमाडौं– कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिए अनुसार हिजो राती झापाबाट विनोद विकलाई पक्राउ गरिएको हो ।
सोबारे थप विवरण आजै सार्वजनिक गरिने प्रहरी अतिरिक्त महानिरिक्षक बज्रचार्यले बताउनुभयो । गत वैशाख ७ गते दिनदहाडै पसलमा बसिरहेका बेला छुरा प्रहार गरी पाण्डेको हत्या भएको थियो ।
प्रहरी घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । आरोपी पक्राउ पर्न नसकेको भन्दै आफन्त, व्यवसायी र स्थानीयहरुले प्रशासनविरुद्ध आन्दोलन गरिरहेका छन् । घटना भएको १० दिन बित्नै लाग्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने थप विवरण आजै सार्वजनिक गरिने बताइएको छ ।