फाइल तस्वीर


काठमाडौं — हत्याको अभियोग लागेका नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ । हिजो शुक्रबार साँझ बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उहाँको बारेमा अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको हो ।


केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएको र सोही अनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उहाँसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाउनुभएको थियो । तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो ।

दोस्रो बैठकमा सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सुनाउँदै सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु, ।’

यस्तै मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने हिजोको बैठकले स्वीकृत गरेको छ ।