काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले झापामा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद विष्णु पौडेलले झापामा ओली र सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।
झापामा ओलीमाथि भएको साङ्घातिक आक्रमणको प्रयासमा सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उहाँले भन्नुभयो, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

नेता मात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उहाँले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गर्नुभयो ।

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताउनुभयो ।

सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उल्लेख गर्दै सांसद पौडेलले भन्नुभयो, ‘सरकारले अकर्मण्यता प्रदर्शित गरेको छ, यसको घोर भर्त्सना गर्न चाहन्छु ।’

एमाले नेताहरुमाथि भएको साङ्घातिक हमलाका प्रयासबारे संसद्मा कुरा उठेपछि गृहमन्त्रीले जवाफ दिएको तर आक्रमणका प्रयास नरोकिएको बताउनुभयो । ‘गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस्’, उहाँले भन्नुभयो, ‘सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन रु प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ ।’