रसुवा — विगत लामो समयदेखि बन्द रहेको जनस्वास्थ्य प्रयोगशाला बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । रसुवामा वि सं २०७५ यता रोकिएको क्षयरोग, औलो, डेङ्गु, स्क्रब टाइफस र अन्य कीटजन्य रोग परीक्षण प्रयोगशाला बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले पुनः सञ्चालनमा ल्याइएको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि सेवा सञ्चालन भएको हो । निर्देशक श्रेष्ठले स्वास्थ्य कार्यालयले गरेको व्यवस्थापकीय कार्य एवं स्वास्थ्यकर्मीको सेवाप्रति सन्तोष व्यक्त गर्नुभयो ।

रसुवाका स्वास्थ्य प्रमुख भीमसागर गुरागाईले रोग परीक्षणका लागि स्थापना गरिएको ल्याब परीक्षण केन्द्रले अब जिल्लाभित्रका स्वास्थ्य संस्थामार्फत सङ्कलन भएका रगत तथा खकार परीक्षण गराई तत्काल रोग पहिचान तथा उपचारमा थप सहयोग मिलेको बताउनुभयो ।

बागमती प्रदेशभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाको स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन पूर्वाधारसमेतको अवस्थाका बारेमा आफूले स्थलगत निरीक्षण गरिरहेको र दक्षिणी रसुवाको जिवजिवेमा छिट्टै टेलिमेडिसन सेन्टर स्थापना गर्न लागिएको निर्देशक श्रेष्ठले बताउनुभयो ।