काठमाडौं– नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले आज बिहीबार एक सूचना सार्वजनिक गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको हो ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्था गरेको विभागले जनाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो ।
यो व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।
यसैगरी, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर बिजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।