प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३१ गते वा जेठ १ गते भारतको भ्रमण गर्नुहुने भएकोछ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ती दुई दिनमध्ये कुनै एक दिन भारत भ्रमणमा आउन सकिने प्रस्ताव पठाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले तय गर्नुभएको दुई मितिमध्ये भारतले एउटा मितिलाई तोकेर नेपाल सरकारलाई जानकारी गराएपछिमात्रै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय हुनेछ । भारतबाट यसै साताभित्र प्रधानमन्त्री प्रचण्डको भ्रमणको मिति निश्चित् हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको स्रोतले जनाएको छ ।

तीन दिनसम्म हुने भ्रमणमा के के एजेण्डामा छलफल हुने भन्नेबारे परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै पनि नयाँ विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्रालय स्रोतले दावी गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले विभिन्न किसिमले गृहकार्य गरिरहेको छ ।