काठमाडौं — वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले कुनै पनि प्रकारका दोष र सुतक लाग्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ। बिहीबार बिहान सूर्योदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ। बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन ।

अश्विनी नक्षत्र, बिहीबार, पर्व विशेष माता तीर्थ औंसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेको पाइँदैन । विशेषगरी मेष, कन्या, वृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ ।

माता तीर्थ औंसी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेको ग्रहणयोग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ। जन्म कुण्डलीमा नागदोष या कुनै पनि प्रकारका ग्रहण दोष योग परेको छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दोषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ । बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारको दोष नलाग्ने त्यसमा पनि बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ ।