प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको लागि औपचारिक रुपमा निम्तो आएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको लागि पठाउनुभएको निम्ता नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्राप्त गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड यही वैशाखभित्रै भारत भ्रमणमा जानेगरी आवश्यक तयारी थालिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको मितिबारे अहिले सार्वजनिक गरिएको छैन । भ्रमणको सबै तयारी पूरा भएपछिमात्रै मिति सार्वजनिक गरिने भएको छ । यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिम साता हुनसक्ने यसअघि पनि सार्वजनिक भएको थियो । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो सक्रियता बढाउन थाल्नुभएको छ ।
आगामी मे १० तारिखका दिन भारतको कर्नाटकमा निर्वाचन हुँदैछ भने मे १९ तारिखमा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जानुहुने भएकोले प्रधानमन्त्री मोदीको विदेश भ्रमण अघिनै प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमण गर्नुहुने बताइएको छ ।
परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी थालिसकेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका बेला केही विषयमा महत्वपूर्ण द्वि–पक्षीय सम्झौता हुने जनाइएको छ । स्वास्थ्य, शिक्षा, जलस्रोत, कृषि, मन्त्रालयबाट एजेण्डाहरु मगाएर त्यसमा अध्ययन गर्ने र कार्यक्रम बनाउने तयारी भइरहेको बुझिएको छ । भारत भ्रमण तयारी र सम्झौता विषय वस्तुको बारेमा अन्तिम निर्णय भएपछि मात्रै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा हुने बताइएको छ ।