काङ्ग्रेस नेता प्रकाशमान सिंह, फाइल तस्वीर
चितवन — नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले वि.सं २०६२÷६३ सालको परिवर्तनपछि प्राप्त भएको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउँदै लोकतान्त्रिक–वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

‘जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस्’ भन्दै नेता सिंहले अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहा नै छ भन्नुहुँदै काङ्ग्रेस नेता सिंहले अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान आग्रह गर्नुभएको छ ।

सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उहाँले यसको गतिका लागि पनि चितवनमा काङ्ग्रेसलाई जिताउनुपर्ने जोड दिंदै गठबन्धनको जीतसँगै विकास निर्माणका कामले समेत गति लिने नेता सिंहले जिकिर गर्नुभयो ।