भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, फाइल तस्वीर
काठमाडौं — भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएसँगै उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ ।

भारतीय नेता चौथाइवालेले आज मङ्गलबार दिउँसो नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ ।

नेपाल भ्रमणमा आउनुभएका भाजपका विदेश विभाग प्रमुख चौथाइवालेले नेताहरूसँगको भेटका क्रममा दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउन जोड दिनुभएको छ । नेता चौथाइवालेले भाजपासँगको दलगत सहकार्यलाई बढाउने विषयमा नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग कुराकानी भएको बताउनुभएको छ ।

उहाँ सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालय र भारतका विभिन्न संघसंस्थाहरूको सहकार्यमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका हो । थौथाइवाले दिल्लीबाट सडकमार्ग हुँदै आईतबार धनगढी पुग्नुभएको र त्यहाँबाट नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगै हिजो सोमबार काठमाडौं आउनुभएको थिए ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले भोलि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट्ने योजना रहेको बताइएको छ । भारतीय नेता चौथाइवाले पर्सी बिहीबार स्वदेश फर्किनुहुने छ ।