फाइल तस्वीर
काठमाडौ — काठमाडौं बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरुले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । आज मङ्गलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

हिजो सोमबार शान्तिवाटिकामा प्रहरीले उनीहरुमाथि दमन गर्दै पानीको फोहोरा र लाठी प्रहार गरेको थियो । प्रहरीको दमनबाट घाइते भएका मिटरब्याज पीडितहरुले गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

सरकारले आफ्ना मागहरु सम्बोधन गर्नुको सट्टा प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको मिटरब्याज पीडितहरुले बताएका छन् । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुमाथि राज्यले नै दमन गरेको भन्दै उनीहरुले सरकारको विरोध गरेका छन् ।

मिटरब्याज पीडितहरुले आफ्ना समस्याहरुलाई समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्न सरकारले बनाएको छानविन समितिले पनि त्यसतर्फ गम्भीर भएर चासो नदिएको उनीहरुको भनाइ छ ।