सांसद नेमकिपाका सांसद प्रेम सुवाल, फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले मिटरब्याजी र लघुवित्त पीडितमाथि गरिएको दमनको विषयमा सदनलाई तत्काल जानकारी गराउन माग गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज पीडित र लघुवित्त पीडितहरूमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणको के हो ? सो को जवाफ दिन माग गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सरकारले संविधानमा उल्लेख गरिएको वाक स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने हकको हनन् हुने गरी पीडितहरुमाथि सरकारले प्रहरीलाई लाठी प्रहार गर्न लगाएको भन्दै त्यसको विरोध गर्नुभयो । सांसद सुवालले मिटरब्याज र लघुवित्त पीडितहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुन्यसमयमा बोल्दै सांसद सुवालले ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याज पीडित र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडित जनतामाथि लाठी प्रहार र दमन गरेर सरकारले संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन् गरेको बताउनुभयो । जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई स्पष्ट जानकारी गराउन जोडदार माग गर्दै मिटरब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न सांसद सुवालले सरकारको ध्यानाकर्षण गर्नुभयो ।’