प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक शुक्रबार बिहान नौ बजे सिंहदरबारमा बस्ने गरी बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आगामी शुक्रबार बस्ने परिषद्को बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने छ । संवैधानिक परिषद्को बैठक बस्ने विषयमा छलफल गर्न आज बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोट पुग्नुभएको थियो ।

भाइरल ज्वरोका कारण बिरामी भै निवासमै आराम गरिरहनुभएका एमाले अध्यक्ष ओली बैठक बस्न सहमत भएपछि प्रधानमन्त्रीले शुक्रबार बैठक डाक्नुभएको हो ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य हुनुहुन्छ । संवैधानिक परिषद्मा एमालेले चाहे अनुसार निर्णय हुने बहुमत छ ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहने भएता पनि कानुन मन्त्रालयमा मन्त्री नहुँदा सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै लिंदै आउनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना एमाले पृष्ठभूमिकै भएका कारण प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने कुरा आन्तरिक रुपमा एमालेकै हातमा हुनेदेखिन्छ ।