फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्ने निर्णय गरेको छ । देशकै सबैभन्दा पुरानो विमान कम्पनीको रुपमा रहेको निगमसँग आन्तरिक उडानको लागि जहाज नभएका कारण जहाज खरिद गर्ने निर्णय गरेको हो ।
आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले आन्तरिक उडानका लागि नयाँ जहाज ल्याएर सेवा विस्तार गर्न लागेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई वटा ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ ।
निगमले खरिद गर्ने भनिएको नयाँ जहाजबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने निगमको दावी छ । तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ । उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने निगमका प्रवक्ता पौडेलले बताउनुभयो । पर्यटन प्रवद्र्धन र सन्तुलित हवाई बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने विज्ञप्तिमा जनाइएको छ ।
निगमले खरिद गर्ने भनिएका साना जहाजको कति सिटरका र कुन कम्पनीसँग किन्ने भन्ने विषयमा विज्ञप्तिमा उल्लेख गरिएको छैन । निगम सञ्चालक समितिले जहाज खरिद गर्ने निर्णयमात्रै गरेको छ ।