उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरू, तस्वीर
काठमाडौं — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा आज सोमबार भेट गर्नुभएको हो ।
उक्त भेटमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती हुने प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।
सो सम्बन्धमा संयुक्त राष्ट्रसङ्घबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिँदै उहाँले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्नका लागि नेपालले आवश्यक तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
भेटमा राष्ट्रसङ्घीय प्रतनिधिमण्डलबाट संरचनात्मक रुपान्तरण जरुरी हुने भएकाले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने तथा विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित माग निर्देशन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी गराउनुभयो । विपद्लाई सम्रग रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणलाई निर्देशन दिइसकेको उहाँको भनाइ थियो ।
संयुक्त राष्ट्रसङ्घजस्तो बहुपक्षीय सङ्गठनको सकारात्मक सहयोगबाट मात्र शान्ति, सुरक्षा, दिगो विकास र समन्यायिक सामाजिक रुपान्तरण हासिल गर्न सकिने श्रेष्ठले उल्लेख गर्नुभएको थियो । सो अवसरमा आपसीसम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।