फाइल तस्वीर
काठमाडौं — संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सत्तापक्षका ठूला दुई र प्रमुख प्रतिपक्ष दल सहमत भएका छन् । भाइरल ज्वरोले बिरामी पर्नुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सहमति जुटेको हो ।
झण्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा रिक्त रहेको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीले राख्नुभएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाउनु भएको थियो । सर्वोच्च अदालतले अब छिट्टै प्रधानन्यायाधीश पाउने छ । न्याय क्षेत्रको सर्वोच्च निकाय सर्वोच्च अदालत झण्डै डेढ वर्षदेखि कामु प्रधानन्यायाधीशका भरमा चलेको छ । तीन शीर्ष नेताहरुबीच संसदीय समितिलाई पनि पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालत २०७८ फागुन १ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग प्रस्तावका कारण १४ महिनादेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहिन अवस्थामा रहेको छ ।
जबराको निलम्बन हुँदा सुरुमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बन्नुभएको थियो । सात महिना कामु प्रधानन्यायाधीश बनेर कार्की सेवानिवृत्त भएपछि गत असोज १५ गतेदेखि सर्वोच्च अदालतको कामुप्रधानन्यायाधीश वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की बन्नुभयो । हरिकृष्ण कार्कीपनि कामु प्रधानन्यायाधीश बन्नुभएको सात महिना भैसकेको छ ।
अघिल्लो बिहीबार नेपाल बार एसोसिएसन र सर्वोच्च वारका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति सुझाउँदै दिंदै प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए । संवैधानिक परिषदबाट नियुक्ति प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले अग्रसरता लिनुभएको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, प्रमुख विपक्षी दलका नेता उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ । राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख एमालेका जिम्मेवार नेताहरु भएकाले परिषद्मा एमालेको बहुमत छ । परिषद्मा प्रधानमन्त्री अल्पमतमा परेका कारण पनि सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई हुनगएको बुझाइ छ ।