काठमाडौं — आन्दोलनमा उत्रिएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंस्थित शान्तिबाटिकामा आन्दोलनकारी मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो ।
शान्तिबाटिकामा बसेर आन्दोलन गर्दै आएका केही मिटरब्याज पीडितहरु प्रहरीको कारवाहीबाट घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई लखेट्न प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेको छ ।
आन्दोलनरत मिटरब्याज पीडितले आज सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सो कुरा थाहापाए पछि सुरक्षाकर्मीले बिहानैदेखि शान्तिबाटिकाको गेटमा पहरा दिएर उनीहरुलाई सिंहदरबार जानबाट रोकेको थियो । मिटरब्याज पीडितहरु ब्यानरसहित दिउँसो सिंहदारबार जान प्रदर्शनमा निस्कने क्रममा प्रहरीले उनीहरुलाई रोकेपछि दोहोरो झडप भएको हो ।
शान्तिबाटिकाबाट बाहिर निस्कन खोज्दा प्रहरीले उनीहरुमाथि लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट पाँच जनाभन्दा बढी मिटरब्याज पीडित घाइते हुन पुगेका छन्भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।