फाइल तस्वीर
काठमाडौं — काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो अझै तीन दिनसम्म रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिएकोले तुवाँलो हट्न नसकेको हो ।

नेपालमा लामो समयदेखि वर्षाका गतिविधिमा पनि कमी आएको र वन जङ्गलमा लाग्ने डढेलोका घटनाहरू पनि बढेको हुँदा उपत्यका लगायत अन्य क्षेत्रमा पनि तुवाँलोको प्रभाव पर्न गएको छ । यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।

उपत्यकामा लागेको बाक्लो तुवाँलोका कारण भिजिविलिटी नहुँदा आन्तरिक तथा वाह्य हवाइ उडानहरुसमेत प्रभावित भएका छन् ।