राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको वैशाख तेस्रो साता बेलायत जानुहुने भएको छ । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भागलिन राष्ट्रपति पौडेल बेलायत जान लाग्नुभएको हो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राज्यभिषेक समारोहमा सरिक हुनेकुरा राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराइसक्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको बेलायत भ्रमण निश्चितप्राय भएको छ । राष्ट्रपति वैशाख २१ मा बेलायत जाने तयारी गरिएको छ । तर, मिति भने निश्चित भइ नसकेको बताइएको छ ।

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक वैशाख २३ गते तदनुसार आगामी मे ६ तारिखका दिन हुँदैछ । बीबीसी लगायत बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार राज्याभिषेक समारोह तीन दिनसम्म हुनेछ । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन् ।

राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका विभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्तिहरुको उपस्थित हुनेछ । बकिङघम राजप्रसादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ । जसमा नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुन जाँदै हुनुहुन्छ ।