फाइल तस्वीर
काठमाडौं — गर्मी मौसम बढेसँगै वनमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण यतिबेला काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्न थालेको हो ।

वातावरण विभागका अनुसार यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेकोे छ । केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाइएको छ । आज बिहान ९: ३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौं दोस्रो सूचीमा रहेको हो ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले एक सय ९२ छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।