फाइल तस्वीर
काठमाडौं — सङ्घीय संसद सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेको सांसद ढाकाकुमार श्रेष्ठको विषयमा अध्ययन अनुसन्धान गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले कारवाही गरेको सांसद श्रेष्ठको बारेमा अनुसन्धान प्रक्रिया सुरु गर्न थालेको हो ।
सचिवालयले आजदेखि अनुसन्धान गरेर श्रेष्ठको बारेमा यतार्थ विवरण सभामुख देवराज घिमिरेलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताउनुुभएको छ । रास्वपाको समानुपातिक कोटाबाट सांसद बन्नुभएको ढाकाकुमार श्रेष्ठलाई गएको चैत ३० गते कारवाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
रास्वपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठलाई गरेको कारवाही कानुनसम्मत भए नभएको बारेमा अध्ययन गर्न लागेको हो ।
सचिवालयका प्रवक्ता गिरीका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे–जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्न जुन विधि प्रक्रिया अपनाउनुपर्छ भनिएको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधिसभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ ।
संसद् नचलेका बेला सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्ने हुन्छ । गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो । यही वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारवाही प्रक्रियागत रूपमा ठीक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने सङ्घीय सचिवालयले जनाएको छ ।
सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रम अनुसार छनोट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने व्यवस्था छ । रास्वपाको बैठकले सांसद श्रेष्ठलाई कारवाही गरी सो पार्टीको तर्फबाट समानुपातिक सूचीमा रहेका बिन्दवासिनी कङ्साकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । सो निर्णय अनुसार रास्वपाले निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ ।