प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नुभएको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्रीले “दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ” भन्नुहुँदै प्रधानमन्त्रीले वैदेशिक पुँजी तथा प्रविधि भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेकोसमेत बताउनुभयो ।
“दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ, तर सरकारसँग लगानीका सीमित स्रोत रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता र लगानी प्राप्तिमा ठूलो अन्तर रहेको बताउँदै त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विशेषगरी परियोजनाको लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले त्यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरूले एकीकृत भएर कार्य गर्न निर्देशित गर्दछु”, उहाँले भन्नुभयो । उहाँले ठूला पूर्वाधार परियोजनाको विकास गर्ने, ढाँचा तय गर्ने, लगानीका स्रोत जुटाउने, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरण जस्ता विषयमा सम्बद्ध निकायको सहयोग आवश्यक पर्ने बताउनुभयो ।