फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसको संस्थापनइतर पक्षीय नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् । आज बिहीबार बिहान बसेको इतर समुहको बैठकमा नेता कोइराला र महामन्त्री थापाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति शेरबहादुर देउवासँग छलफल भइररहेको दावी गरेका हुन् ।
नेता कोइरलाले बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू पक्षीय सांसदहरूको बैठकमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराउनुभएको थियो । सत्ता गठबन्धनमा काङ्ग्रेसको भागमा आठ मन्त्रालय पाएकोमा थप एक मन्त्रालय पाउने संस्थापनइतर समूहकोइरालाको आशय थियो ।
सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ । यसअघि चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन्। अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।
अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये काङ्ग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि उक्त मन्त्रालय काङ्ग्रेसले पाउने भएको छ ।
बाँकी मन्त्रालयमा नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री द्वय बद्री पाण्डे, जीवन परियार, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा छ । सह–महामन्त्री पाण्डेले मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुनै निर्णय नभएको बताए ।