सर्वोच्च अदालत, फाइल तस्वीर
काठमाडौं – विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्नु भन्ने अदालतको परमादेशको कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगर्नुको कारण पेश गर्न आज बुधबार सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतबाट जारी परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अभियन्ता नन्दराज उपाध्यायले हिजो मङ्गलबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी रिट दर्ता गराउनुभएको थियो । सो रिटमाथि न्यायाधीश चुडालको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न कानुन निर्माण गरी व्यवस्था गर्नु भन्ने परमादेश दिएको थियो । तर सर्वोच्च अदालतको परमादेशलाई सरकारले कार्यान्वयनमा नलगेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । न्यायाधीश चुडालको इजलासले के कति कारणले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरिएको हो, सो को कारण लिखितरुपमा पेश गर्न पनि सरकारको नाममा कारण देखाउ आदेश जारी भएको हो ।
उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विपक्षी बनाई सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।