भक्तपुर — भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आज सोमबारदेखि सुरु भएको हो ।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । बिस्केट जात्राको पहिलो दिन आज भैरव र भद्रकालीको पूजा गरेपछि साँझबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिनेछ ।
परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पुर्याइ फर्काउने प्रचलन छ । यसरी रथलाई तल्लो क्षेत्रमा गःहिटी र्पुयाएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।