सभामुखसहित तीन ठूला दलका शीष नेताहरुको बैठक, तस्वीरः प्रदीपराज वन्त

काठमाडौं — सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुखको कार्यालयमा सभामुख देवराज घिमिरेसहित तीन ठूला दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

सभामुख घिमिरेसहित प्रतिनिधिसभाका मुख्य तीन ठूला दलका शीर्ष नेताहरुबीच संसद् सञ्चालन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् सञ्चालन, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो ।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आजको भेटवार्तामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन गर्न बनेको विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयका साथै संसद्का विषयगत समिति गठनका विषयमासमेत छलफल भएको जानकारी दिनुभयो ।