काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन आग्रह गर्नुभएको छ । महानगर प्रमुख साहले आज शनिबार सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै ती संरचना प्रहरीले आफै हटाइदिन आग्रह गर्नुभएको हो ।
उहाँले अन्यथा समतामूलक कानूनको प्रयोग गरी संरचना भत्काउन बाध्य हुने चेतावनी समेत दिनुभएको छ । महानगर प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्नुभएको छ, ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन, सबैका लागि हो र हुनुपर्छ, । कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला ।’
उहाँले महानगरपालिकाभित्र १९ प्रहरी बिटले बाटोमा संरचना बनाएको भन्दै विस्तृत जानकारी राखेको र राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उल्लेख गर्नुभएको छ ।