रामपुर — अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् ।

महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउनुहुन्छ । यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उहाँले बताउनुभयो । ‘भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा ध्यान एकाग्र हुँदा मानव मनभित्रका वेदना, दुःख, तनाव सबैबाट मुक्ति मिलेको छ’, उहाँले भन्नुभयो ।

भजन पुरुषले नै गाउनुपर्छ भन्ने छैन । महिलाले पनि अखण्ड भजन गाउन सक्ने उहाँको अनुभव छ । महिलाले सीप सिक्न नखोज्नु र यसमा रुची कमैले राख्ने गरेकाले पुरुषको मात्रै संलग्नता समाजमा धेरै देखिएको भण्डारीको भनाइ छ । उमेरले ५३ पुग्नुभएकी भण्डारी जवानी उमेरमा नै पाकापुस्तासँग भजन गाउन सिकेर अहिले आफ्नै नेतृत्वमा सामूहिक भजनमा सहभागी हुने गरेको बताउनुहुन्छ ।

   परम्परा र संस्कृति संरक्षण मात्र नभई भजनले मनका सारा पीडा दुःख भुलाउँछ । दैनिक दुई घण्टाको समय उहाँले भजनमा बिताउनुहुन्छ । केलादीधाममा भजन गाउने र मनलाई आनन्दित पार्न यहाँका स्थानीयको सक्रिय सहभागिता छ । घर नजिकै मन्दिर भएकाले भजन सिक्न सजिलो भएको छ । 

घर परिवारका पीडा सबै भजनमा सहभागी भएपछि भुल्दै गएको देवीमाया पौडेल बताउनुहुन्छ । उहाँ हरेक दिन मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म भजनमा सहभागी हुनुहुन्छ । केलादी मन्दिरमा उहाँ सो समय गाउँका छिमेकी साथीको साथमा आफैँले बजाएको मादलको तालमा भजन गाउँदा अल्छीपन हट्नुका साथै पीडाले भरिएको मन हलुको हँुदै गएको अनुभव सुनाउनुहुन्छ । अरुले गाएको भजनबाट सीप सिकेर अहिले आफैँले भजन गाउन सक्ने दक्षता हासिल गरेर दैनिक भजनमा संलग्न रहदै आएको पौडेलले बताउनुभएको छ ।

 यहाँ महिलाहरुले आफै मादल, झ्याली, मुजुरा बजाउँदै भजनमा सक्रिय हुने गरेको पाइएको छ । समुह समुहमा पालैपालो घरको कामधन्दा सकाएर तीस वर्ष माथिका महिलाहरु भजनमा सहभागी हुने गरेका छन् । यस कार्यले धर्म, संस्कृति र परम्पराको संरक्षण मात्र नभई मनलाई आध्यात्मिक क्षेत्रमा रमाउने माध्यम बनेको छ । 

केलादीधाममा हाल दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म अखण्ड भजन भइरहेको नेपाल निम्वार्क पिठ राधा दामोदर मन्दिर केलादीधामका सचिव लेखनाथ खनाल बताउनुहुन्छ । उहाँका अनुसार एक समूहलाई दुई घण्टाको समय भजन गाउने वातावरण मिलाइएको छ । दिनमा छ समूहमा आफ्नो पालोअनुसार भजनमा सहभागी हुने गर्दछन् ।

   ‘नयाँ पुस्ताले पुरानो संस्कृित बिर्सदै गएको र आधुनिकताको नाममा पुराना चलन अवलम्बन नहँुदा नयाँ पुस्ता भजनमा रुची देखाउँदैनन’, उहाँले भन्नुभयो, ‘उनीहरुलाई पनि भजनबारे जानकारी दिन र परम्परा धान्न नियमित रुपमा भजन चलाइरहेका छौँ ।’ २४ सै घण्टा अखण्ड भजन भइरहने गरेकोमा अहिले जनशक्ति अभावमा दिनको समयमा मात्रै नियमित भजन मन्दिरमा चलाइरहेको खनालले बताउनुभयो । यहाँ विसं २०३७ वैशाखदेखि हँुदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको अखण्ड भजन बन्द छ । कालीगण्डकी नदीको तटमा रहेको यस केलादीधामले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलाई जोडेको छ । रासस