प्रतिनिधिसभा बैठक, फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद् गगनकुमार थापाले गठबन्धनको सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्नुभएको छ । प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा बोल्दै सांसद् थापाले प्रशंसा गर्नुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख र साझा न्यूततम कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ ।
साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उहाँले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो । साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उहाँले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गर्नुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गर्नुभयो ।
हालको राजनीतिक प्रणालीलाई जोगाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । साझा न्यूततम कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रमा २०४६ सालको दरबन्दीमै अहिले पनि सेवा प्रवाह भइरहेको बताउँदै तत्काल सङ्घीय र प्रादेशिकस्तरमा पदपूर्ति गर्नुपर्ने बताउनुभयो ।
उहाँले अन्य कर्मचारीसँगै स्वास्थ्य क्षेत्रका जनशक्तिको समायोजन गरिएकाले अहिले स्वास्थ्य क्षेत्रमा कहीँ उपकरण छ, जनशक्ति छैन, कहीँ जनशक्ति छ, कहीँ उपकरण नभएको अवस्था देखिएको बताउँदै समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।