काङ्ग्रेसका नेता डा. शेखर कोइराला, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच सरकारकालाई पूर्णता दिनेसम्बन्धमा छलफल भएको छ । नेपाली काङ्ग्रेस भित्रको आन्तरिक विवादका कारण सो पार्टीले पाएका मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त हुन सकेको छैन । यता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी नेपालले पनि मन्त्रीको नाम पठाउन नसक्दा सरकार विस्तारमा ढिलाई भएको छ ।

प्रधानमन्त्रीले भेटघाटका क्रममा काङ्ग्रेसले छिटोभन्दा छिटो काङ्ग्रेसको भागमा परेका मन्त्रालयका लागि मन्त्रीको नाम पठाउन नेता कोइरालालाई आग्रह गर्नुभएको थियो । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीहरुको नाम पठाउने विश्वास दिलाउनुभएको छ ।

नेता कोइरालाले जनमत पार्टीका मन्त्रीले राजीनामा दिएपछि खाली भएको खानेपानी मन्त्रालय काङग्रेसले पाउनुपर्ने माग प्रधानमन्त्रीसँग राख्नुभएको बताइएको छ । सभापति देउवाले आफ्नो समूहलाई दुई मन्त्रालयको मात्र प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको भनाइ थियो । हिजो बिहीबार साँझ पार्टी सभापति देउवालाई भेटेर नेता कोइराला आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

नेपाली काङ्ग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीचको टकरावका कारण सरकारले पूर्णता पाउन सकेको छैन । अघिल्लो हप्ता शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काङ्ग्रेस सरकारमा सामेल भएको छ । तर उसले पाएका आठ मन्त्रालयमध्ये चार मन्त्रालय अझै बाँकी रहेका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले तीन मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखेपछि देउवाले आफू पक्षीय दुई जनाको मन्त्री पदको शपथ ग्रहण नै रोक्नुपरेको थियो ।

प्रधानमन्त्रीसँग अहिले रहेका छ मन्त्रालयमध्ये काङ्ग्रेसको भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ  । शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिंदै आएको छ । उनीहरुको अडानका कारण आफ्नो पक्षबाट नेता नारायणप्रसाद साउद र मोहन बस्नेत मन्त्री बन्न रोकिएका छन् । सभापति देउवाले संस्थापन इतर पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने बताउँदै आएता पनि महामन्त्री गगनकुमार थापा यसमा सकारात्मक नहुँदा सरकारलाई पूर्णता दिन विलम्ब भइरहेको छ ।